देवदह । देवदह माध्यमिक विद्यालयको ३९ औं बार्षिकोत्सबको अवसरमा आयोजित अन्तर विद्यालय दौड प्रतियोगिता सम्पन्न भएको छ। देवदह मा.वि द्वारा आयोजित ४२०० मिटर दौड प्रतियोगितामा देवदहका ९ विद्यालयका १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
४२०० मिटरको दुरी १५ मिनटमा पूरा गर्दै देवदह मा.विका सन्तु थापा पहिलो भएका हुन्। त्यस्तै १५ मिनट ९ सेकेन्डमा दुरि पूरा गरेका भविष्य निर्माणका निर्मल केवट दोश्रो स्थान हासिल गरे भने १५ मिनट २२ सेकेन्डमा पूरा गर्दै देवदह मा.वि कै सागर वि.क तेश्रो भएका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा देवदह माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरज खरेलले स्वस्थ जीवनको लागि खेलकुद महत्वपूर्ण रहेको बताउनुभयो। उहाले शिक्षा सँगै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेकाे बताउँदै सहभागी विद्यार्थीलाई भविष्यमा आफ्नो विद्यालय, नगर हुँदै राष्ट्रको नाम राख्ने खेलाडी बन्ने शुभकामना समेत दिनुभएको थियो।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्तो प्रतियोगिताले विद्यालय र विद्यार्थी बिच आपसी सम्बन्ध बढाउनुको साथै भाईचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी सँस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उद्देश्यका साथ दौड प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक खुम प्रसाद भण्डारीले बताउनुभयो।
विजयी प्रतियोगी प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।