भैरहवा//
गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभएको छ। आज विमानस्थलको निरिक्षण गर्दै आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने बताउनुभएको थियो । नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको किराँतीको भनाई छ। यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने उल्लेख गर्नुभएको छ ।
श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्रीमार्फत कोलम्बो–भैरहवा–कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली–भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उहाँको भनाई छ। यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए ।