सुरज भट्टराई , देवदह // रुपन्देहीको देवदहमा दोश्रो देवदह अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता-२०७९ सुरु भएको छ। नेपाल निजामती कर्मचारी संगठन, देवदह नगर इकाई समितिको आयोजना र देवदह नगरपालिकाको विशेष सहयोगमा मंगलबार देखि प्रतियोगिता सुरु भएको हो। देवदह ५ , पानबारिको खेल मैदानमा हुने प्रतियोगितामा कुल १२ ओटा टिमले भाग लिएका छन्।
नेपाल निजामती कर्मचारी संगठन, देवदह नगर इकाई समितिको अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय जानकी न्यौपानेले खेलको माध्यमबाट कर्मचारीहरुको शारिरिक तथा मानसिक, स्वास्थ्य अभिवृद्धि हुने तथा कर्मचारीहरुको बिचमा पारस्परिक सम्बन्ध स्थापित हुने बताउनुभयो। उहाले खेलकुदको माध्यमबाट देवदहलाई पर्यटकिय क्षेत्रको रुपमा प्रवद्र्धन गर्न, पालिकालाई खेलमैत्री नगर बनाउन यस खेलले सहयोग गर्ने बताउनुभयो। प्रशासकिय कमकाजहरुमा पारदर्शिता,सुशासन प्रवर्द्धन गर्ने,पेशागत समस्याहरु सम्बन्धित निकायमा राख्न सहयोग गर्ने,काम गर्ने क्रममा लिएको ज्ञान सीप,अनुभव,सेवा प्रवाह साटासाट गर्ने अवसर मिल्ने उहाले बताउनुभयो।
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष रेवन्त गौतमले जिल्ला कमिटी, केन्द्रिय कमिटीले गर्नु पर्ने कार्यक्रम पालिकाको संगठन आयोजना गरेकोमा देवदह नगर इकाई समितिको प्रशंसा साथै धन्यवाद व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुब खरेलले नगरको खेलकुद विकासको लागि प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए। खेलकुदको विकासको लागि खेलाडीको क्षमता विकास र पुर्वधार निर्माणलाई जोड दिनु पर्ने उहाको भनाई छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजार रुपैँया सहित मेडल , ट्रफी र प्रमाणपत्र , दोश्रो हुनेले नगद ३१ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्। त्यस्तै म्यान अफ दि म्याचले नगद १ हजार रुपैयाँ र ट्रफी, मेन अफ दि सिरिजले ३ हजार रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र पाउने छन्।
संगठनका उपाध्यक्ष रमेश गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, सियारी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोम नाथ न्यौपने, देवदह नगरपालिकाको नगर शिक्षा अधिकारी टिकाराम शर्मा, नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय प्रतिनिधि परिषद सदस्य राम प्रसाद शर्मा, देवदह नगरपालिकाको नगर प्रवक्ता गणेश डुम्रे, संगठनका रुपन्देही अध्यक्ष प्रेमप्रसाद खरेल, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएत स्थानिय वासिको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी संगठन, देवदह नगर इकाई समितिको सचिव राममणी अर्यालले गर्नु भएको थियो।
उद्घाटन खेल
मंगलबार सम्पन्न पहिलो खेलमा देवदह नगरपालिकाले सुद्धोधन नगरपालिकालाइ ३-० को अन्तरले पराजित गरेको छ । देवदह नगरपालिकाका जर्सी नं १५ , रिम कुमार थापाले २ गोल गरेका थिए भने देवदह नगरपालिकाका जर्सि नं १० का सुमन थापाले १ गोल गरेका थिए। २ एसिस्टका साथ १ गोल गरेका सुमन थापा म्यान अफ दि म्याच घोसित भए।
दोश्रो खेल
प्रतियोगिताको दोश्रो खेल भने तिलोत्तमा नगरपालिका र सियारी गाउपालिकाको बिच भएको थियो। खेलमा तिलोत्तमाका जर्सि नं ७ का कल्याण जंग अधिकारीले १ गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए। खेलको म्यान अफ दि म्याच कल्याण जंग अधिकारी घोसित भएका थिए।
प्रतियोगितामा भोलि मायादेवी र कोटही माइ बिच बिहान ११:३० मा र दोश्रो खेल गैडहवा गाउपालिका र रोहिणी गाउपालिका बिच दिउँसो १:३० बजे हुने र अन्तिम खेल शिद्धार्थ नगर र तोलोत्तमा बिच ३:३० बजे हुने आयोजकले जनाएको छ।