देवदह । दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि भोलि देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिका प्रतिस्पर्धा गर्दैछन्।
शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा मायादेवी गाउँपालिकालाई २–० ले पराजित गर्दै देवदह नगरपालिका फाइनलमा प्रवेश गरेको हो। सो खेलमा देवदहका प्रविन गौडेल र सुमन थापाले १-१ गोल गरेका थिए।
त्यस्तै दोश्रो सेमीफाइनल खेलमा सिद्धार्थनगर नगरपालिकाले बुटवल उपमहानगरपालिकालाइ १-० को गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो। सो खेलमा सिद्धार्थनगर नगरपालिकाका लस्सो मोक्तानले १ गोल गरेका थिए।
त्यसैगरी देवदह नगरपालिकाका जनप्रतिनिधि र सञ्चारकर्मीबीच भएको मैत्रीपूर्ण प्रतियोगितामा सञ्चारकर्मीको टोली विजयी भएको छ । खेलमा सञ्चारकर्मीले जनप्रतिनिधिलाई ५–१ को फराकिलो गोल अन्तरमा हराएका छन्। खेलमा सञ्चारकर्मीका खेलाडी सुरज भट्टराईले २ गोल, मिन रानाले २ गोल र रेशम अधिकारीले १ गोल गर्दै टिमलाई विजयी बनाएका थिए। देवदह नगरपालिकाका जनप्रतिनिधि टोलीका तुलबहादुर चौधरीले एक गोल फर्काएका थिए।
प्रतियोगिताको फाईनल खेल शनिवार देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिका बीच हुने आयोजकले जनाएको छ।