भैरहवा ।
भैरहवामा आजदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले देवदह क्रिकेट युनिट देवदहलाई ६८ रनले पराजित गर्दै जीत निकाल्न फल भएको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ३८ ओभरको खेलमा ३७ ओभर १ बलमा सबै विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो। प्रतिउत्तरमा जीतका लागि पाएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा देवदह २७ ओभर ३ बलमा सबै विकेट गुमाई ८२ रन मात्र बनाई ६८ रनले पराजित बनेको हो।
आजको खेलमा नेपथ्यका सुनिल धमला म्यान अफ द म्याच भएका छन। प्रतियोगिता अन्तर्गत आइतबार गोलपार्क क्रिकेट क्लब, बुटवल र साई ग्लोबल एकेडमी, भैरहवाबीच हुनेछ । रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।