-झविन्द्र देवकोटा, बुटवल ।
शनिबारदेखि बुटवलमा नवौ नेशनल प्याब्सन खेलकुद महोत्सव सुरु भएको छ । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीको आयोजनामा भएको खेलकुद महोत्सवमा शनिबार पहिलो चरणका सव जुनियर, जुनियर र सिनियरका समुहगत विभिन्न इभेन्टका खेलहरु सम्पन्न भएका छन् । रामनगर खेल मैदानमा भएको खेलकुद महोत्सवको उद्घाटन खेलमा सव जुनियर तर्फका छात्रछात्रातर्फको ५०÷५० मिटर दौड, १०० मिटर दौड तथा सव जुनियरतर्फकै छात्रछात्रा कुर्चि दौड सम्पन्न भएको खेलकुद संयोजक विनोद थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जुनियरतर्फको छात्रछात्रा १०० र २०० मिटर दौड, तथा सिनियरतर्फ छात्रछात्रा २०० र ४०० मिटर दौडका खेलहरु सम्पन्न भएका छन् । यस्तै सव जुनियर, जुनियर र सिनियरका बाँकी खेलहरु आइतबार हुने छन् भने आइतबारसम्म खेल महोत्सव जारी रहने छ । खेलकुद महोत्सवमा २९ विद्यालयका १२ सय बढी विद्यार्थीले विभिन्न ४० इभेनटमा प्रतिस्प्रर्धा गर्दै छन् । विभिन्न प्रतिस्प्रर्धामा रहेका विभिन्न विद्यालयका विद्यार्थीले ल्याएको अंकका आधारमा प्रथम द्वितीय र तृतिय पुरस्कार प्रदान गरिने सचिव बाबुराम बन्जाडेले जानकारी दिनुभयो । विजेताले शिल्ड, ट्रफि तथा प्रमाणपत्र हात पर्ने सचिव बन्जाडेले बताउनुभयो । शनिबारदेखि सुरु भएको नवौ खेलकुद महोत्सवको उद्घाटन गर्दै नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले खेलकुदको क्षेत्रमा ठुलो जनशक्ति उत्पादन गर्ने संस्थागत विद्यालयप्रति राज्यको ध्यान पुग्न नसकेको बताउनुभयो ।
उहाँले शैक्षिकसँगै अतिरिक्त तथा खेलकुदमा ठुलो जनशक्ति उत्पादन गर्ने संस्थागत संस्थाहरुप्रति राज्यकोे विभेदकारी नीतिले पछाडि पार्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयहरुप्रति एकै किसिमको ब्यवहार गर्न तीनै तहका सरकारलाई सुझाव दिनुभयो । नेशनल प्याब्सनका रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेल, प्रदेश उपाध्यक्ष होमनाथ ढुङ्गाना, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेशनल प्याब्सनका उपाध्यक्ष विल गुरुङ्ग लगायतले विद्यार्थीबीचको अन्तरनिहित प्रतिभालाई बाहिर निकाल्न यस्ता प्रतियोगिताले धेरै सहयोग गर्ने भएकाले निरन्तरताको खाँचो औल्याउनुभयो ।