एजेन्सी ।
टर्कीमा भूकम्पबाट भत्किएका भवनको निर्माण मापदण्डबारे अनुसन्धान सुरु भएको छ । भूकम्प प्रतिरोधी र बलिया भनेर निर्माण भएका भवन पनि भत्किएर हजारौँ नागरिकको ज्यान गएपछि सरकारले मापदण्डबारे अनुसन्धान थालेको हो। अनुसन्धानका लागि टर्कीको प्रहरीले अहिलेसम्म एक सय जनाभन्दा धेरैलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। पक्राउ पर्नेमा भवन डिजाइनर, इन्जिनियर र ठेकेदार रहेका छन। टर्कीमा विगतका वर्षहरूमा भूकम्प गएपछि सरकारले भवन निर्माणमा कडा नियम लागू गरेको थियो। यसका बाबजुद गएको सोमवारको भूकम्पमा हजारौँ भवनहरू ढलेपछि अनुसन्धान थालिएको सरकारले जनाएको छ।
टर्कीको न्याय मन्त्रालयले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० वटा प्रान्तमा भूकम्प अपराध अनुसन्धान विभागहरू गठन गर्न आदेश दिएको छ । टर्कीमा गएको सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको छ । भवनका भग्नावशेष पूर्णरूपमा नहटाइएकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने उद्धार र राहत कार्यमा संलग्न निकायहरूले बताएका छन् ।