एजेन्सी ।
न्युजिल्याण्ड सरकारले चक्रवातका कारण हजारौं मानिस घरबार विहीन भएपछि देशव्यापी आपत्कालको घोषणा गरिएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आँधीका कारण उत्पन्न समस्यासँग जुध्नका लागि आपत्कालको घोषणा गर्नुभएको हो । उहाँले तत्काल राहतका लागि १ करोड १५ लाख अमेरिकी डलरको प्रारम्भिक प्याकेज पनि घोषणा गर्नुभएको छ । नर्थल्याण्ड, अकल्याण्ड र ताइराविटी लगायतका क्षेत्रहरु आँधीका कारण बढी प्रभावित भएकाले आपत्कालको घोषणा गरिएको हो ।
आँधीबाट ३८ हजार घरहरुमा बिजुली आपूर्ति बन्द हुँदा सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन् । अकल्याण्डमा रहेको ३० मिटर अग्लो टावर वरपर रहेका ५० घरपरिवारको उद्धार गरिएको छ । तीव्र हावा र भारी वर्षाका कारण देशले व्यापक क्षति व्यहोर्नु परेको अधिकारीहरुले बताएका छन् । आँधी कमजोर बन्दै गएपनि त्यसले शहर तथा ग्रामिण क्षेत्रमा व्यापक रूपमा प्रभाव पारेको छ । प्रतिघण्टा १० किलोमिटर वेगले आँधी अझै केही दिन रहने अनुमान गरिएको छ ।