१३ फागुन, काठमाडौं ।
सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमणको प्रकोप बढेको छ। दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । बर्जुमा पहिलो पटक वडामा नम्बर २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको जनाएको छ । प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडामा फागुनको १६ गतेबाट एकसाथ दादुरा विरुद्धको खोप अभियान सञ्चालनमा ल्याइने भएको छ। अभियानमा ६ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ।