बुटवल ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले संघीय निजामती कर्मचारी ऐन तत्काल ल्याउन माग गर्नु भएको छ । शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजित कर्मचारी मित्रमिलन कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले संघीय निजामती ऐन नबन्दा कर्मचारीहरुको बृत्ति विकासमा असर परेकोले तत्काल संघीय निजामती कर्मचारी ऐन तत्काल ल्याउन माग गर्नु भएको हो । मुलुक संघीयतामा गएको लामो समयसम्म पनि निजामती कर्मचारी ऐन नबन्नु आफैमा दुखद भएको भन्दै वहाँले स्थायी सरकारको रुपमा रहेको कर्मचारीहरुलाई मार्ग निर्देश गर्ने ऐन नबन्दा कर्मचारीहरुको हक अधिकार तथा बृत्ति विकासका साथै राज्य सञ्चालनमा समेत असर परेको वहाँको भनाई थियो ।
अध्यक्ष पोख्रेलले अब बन्ने सरकारले कर्मचारी युनियनले उठाएका मागहरुलाई सम्बोधन गरेर जतिसक्दो छिटो निजामती कर्मचारी ऐन ल्याउन पहल गर्न कांग्रेस नेताहरुसँग आग्रह गर्नु भयो । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगा शाही, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक मदन गौतम, कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक टेकराज पन्थी, जिल्ला सचिब बालकृष्ण गैरे लगायतले यस्ता खाले कार्यक्रमले कर्मचारी र पार्टीबीच भातृत्व र समन्वयको विकास गर्न मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।