देवदह // रुपन्देहीको देवदहमा मेलमिलापकर्ताहरुको लागि तिन दिने पुनर्ताजगी तालिम सुरु भएको छ। देवदह नगरपालिका, न्यायीक समितिको आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो। मंगलबारदेखि सुरु भएको तालिम फागुन १८ गते सम्म जारी रहने छ। ६७ जना मेलमिलापकर्तालाई तालिम दिन लागिएको हो।
तालिम उद्घाटनका अवसरमा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख तथा न्यायिक समिति संयोजक विद्या लक्ष्मी गुरुङले गुणस्तरीय न्याय सम्पादनको लागि मेलमिलापकर्ताहरुको दक्षता अति नै जरुरी भएकाले तालिम लगायतका कार्यक्रमलाई न्यायीक समितिले प्राथमिकतामा राखेको बताउनुभयो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा, देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डे लगाएतले बोल्दै समाजमा हुने विभिन्न विवाद मेलमिलापको माध्यमबाट निरुपण गर्नुपर्नेमा जोड दिनु भएको थियो। तालिमको सहजीकरण अधिवक्ता तथा देवदह नगरपालिकाको कानुनी सल्लाहकार डासिराम पाण्डे र अधिवक्ता हेमा न्यौपानेले गर्नुभएको हो।
कार्यक्रम देवदह नगरपालिकाको उप प्रमुख तथा न्यायीक समिति संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता, न्यायीक समितिका सदस्य देवीप्रसाद न्यौपानेको स्वागत र मिना भुसालको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको हो।




