भैरहवा ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना बिहिबारदेखि वडा नम्बर ५बाट शुभारम्भ भएको छ। आर्थिक वर्ष २०७८र०७९ मा रोजगारीका लागि सूचीकृत भएका स्थानीयहरुलाई रोजगारी दिने उद्देश्यले आयोजना सुरु गरिएको रोजगार संयोजक अमृता पाण्डेले बताउनुभयो। जम्मा ६३ जना सूचीकृत भएकामध्ये वडा नम्बर ५ मा २५ जनालाई रोजगारी दिइएको पाण्डेले जानकारी दिनुभएको छ। छानिएका २५ जनालाई न्यूनतम १ सय दिनको रोजगारी सुनिश्चित गरिएको छ। उनीहरुलाई दैनिक ५ सय ७७ रुपैयाँका दरले पारिश्रमिक दिइने पाण्डेको भनाई छ। छानिएका २५ जना महिला श्रमिकले दैनिक ७ घण्टा काम गर्नेछन।
उनीहरुलाइ वडाकै सार्वजनिक एवं ऐतिहासिक स्थलहरुको सरसफाई तथा मर्मत, कुलो कुलेसो मर्मत लगायतका काममा लगाइने गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाअध्यक्ष मदनप्रसाद पोखरेलले बताउनुभयो। पहिलो चरणमा वडा नम्बर ५, ४ र ३ का कामदार छानिएको पोखरेलले जानकारी दिनुभयो । काम गर्दा स्थानीय एवं घरेलु औजार प्रयोग गरिने उहाँको भनाई छ। आयोजनाको उदघाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु)ले पाएको रोजगारको गुनासो नआउने तरिकाले काम गर्न निर्देशन दिनुभएको छ । बेरोजगार अवस्थामा रहेका विपन्न नागरिकलाई रोजगारी दिने उद्देश्यले ल्याइएको यो कामको सदुपयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो।