बुटवल ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को आज शुक्रबारको खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल–११ ले बुद्ध क्रिकेट क्लबलाई ४६ रनले पराजित गर्दै विजयी भएको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा २ सय ६५ रनको योगफल बनायो ।
जवाफी ब्याटिङ गरेको बुद्धले ९ विकेटको नोक्सानीमा २ सय १९ रन मात्रै बनायो र हार ब्यहोरेको हो। बुटवल–११ का इशान पाण्डे म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएका छन । चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।