कंचन ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएसँगै विद्यार्थी संगठनहरु उम्मेदवार छनौटको रस्साकस्सीमा छन्। २०७३ सालको स्ववियु निर्वाचनमा प्यानल सहित विजयी भएको कंचन गाउँपालिकाको नेपाल विद्यार्थी संघ हरैया बहुमुखी क्याम्पस ईकाई समिति पनि उम्मेदवार छनौटको रस्साकस्सीमा छ। स्ववियु सभापतिका लागि नेविसंघबाट इकाई समितिका सभापति सुनिल राना, पूर्व इकाई सभापति तथा पूर्व स्ववियु सभापति प्रकाश उपाध्याय पौडेल सहित ७ (सात) जना दाबेदार छन्।
यस्तै सभापतिको दाबेदारमा सुभाष पौडेल, मदन आचार्य, मिपाङ्ग थापा, कुशल उपाध्याय र सन्तोष कंडेल छन्।आचार्य इकाई उपसभापति हुन् भने पौडेल र थापा इकाई सचिव हुन्। त्यस्तै उपाध्याय इकाई सदस्य र कंडेल लोकप्रिय विद्यार्थी नेता हुन्।उम्मेदवारी दर्ताको दिन नजिकिदै गर्दा नेविसंघको तर्फबाट को उम्मेदवार बन्ने अझै टुङ्गो लागेको छैन। वार्ताबाटै सर्वसम्मत गराउन नेविसंघ इकाई समितिले निरन्तर संवाद गरिरहेको र भोलिसम्म पनि सहमति हुन् नसकेमा नेविसंघ रुपन्देही तथा नेपाली कांग्रेस कञ्चन गाउँ कमिटीमा आकांक्षीहरूको नाम सिफारिस गर्ने तयारी भएको इकाई सभापति सुनिल रानाले जानकारी दिनुभयो।
स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ। त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्।