२० फागुन, रुपन्देही ।
रुपन्देही प्रहरीले होलीमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर विकका अनुसार होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको छ । उहाँले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभएको छ ।
जिल्लाभरका ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई पनि गस्ती गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो। होलीमा मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ। प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन आग्रह गर्दै कहीँ कतै अमानवीय गतिविधि भएमा १०० नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ ।