काठमाण्डौ ।
आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व हर्षोउल्लासका साथ मनाईएको छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन चलिआएको छ । फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाईदैछ ।
होली पर्वका अवसरमा आज पहाडी भेगमा सार्वजनिक विदा दिइएको थियो। यसैबीच, प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।