बुटवल ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को आज शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ३८ रनको सामान्य योगफल बनायो ।
जवाफी व्याटिङ गरेको बुटवल राइनोज ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रनमै समेटियो र हार व्यहोरेको हो । न्यु होराइजनका विप्रशन केसी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिनुभयो । चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।