कास्की ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थललाई हव बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको जानकारी हो । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको छ। काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भरेको विमानस्थलले जनाएको छ । पोखरामा रात्रि विसान भएका चारै गन्तव्यका जहाजले आज बिहान सम्बन्धित गन्तव्यमा उडान भरेका छन।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार रात्रि उडान भरेर पोखरामा विसान भएका जहाजले आज बिहान पोखराबाट पुनः काठमाडौँ, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् । निर्धारित रात्रिकालीन उडान तालिकाअनुसार भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवा–पोखरा साँझ ७ः२५ बजे, नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे र काठमाडौँ–पोखरा साँझ ७ः३५ बजे रहेको छ ।