तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘रोजगार सूचना मेला’ आयोजना गर्न लागेको छ । बेरोजगार युवायुवतीलाई रोजगारीमा जोड्ने उद्देश्यले युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण जनशक्ति अभावको समस्या रहेको र बेरोजगार युवायुवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगिक तथा व्यवसायिक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ति गर्ने उद्देश्यले नगरपालिकाले चैत ४ गते १ दिने रोजगार सूचना मेला आयोजना गर्न लागिएको आयोजकले बताएका छन ।
नगरपालिकाले तिलोत्तमा नगर क्षेत्रमा रहेका रोजगारदाता तथा व्यवसायिक संघ–संस्थाहरुसँग सहकार्य गरेर यो मेला आयोजना गर्न लागेको हो । रोजगार सूचना मेलाकै तयारीकै सिलसिलामा नगरपालिकाले तिलोत्तमा उद्योग वाणिज्य संघमा आबद्ध उद्योगी व्यवसायीहरुसँग आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीहरुले रोजगार सूचना मेलालाई सफल पार्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा तिलोत्तमा उद्योग वणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले अहिलेको परिस्थितिमा उद्योगी व्यवसायीले रोजगार दिन सक्ने अवस्था नभए पनि नगरपालिका र उद्योग वाणिज्य संघको नङ र मासुको जस्तै सम्बन्ध भएकाले रोजगार मेलालाई सफल पार्ने दायित्व संघमा आबद्ध उद्योगी व्यवसायीको भएको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा रोजगार मेलाका संयोजक गणेश पाठकले तिलोत्तमा नगर क्षेत्रका बेरोजगार युवायुवतीलाई स्वदेशमै रोजगारी दिने नीतिअनुरुप रोजगार मेला आयोजना गर्न लागिएको बताउनुभयो। संयोजक पाठकका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका ४० बढी स्टल रहने र मेलामै विभिन्न सीप भएका व्यक्तिहरुलाई रोजगार दिलाइनेछ ।