बुटवल ।
नेपाल कम्युनिस्ट पार्टी (मशाल) जिल्ला समिती रुपन्देहीले रासायनिक मलको अनुदानमा भएको कटौती प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । नेकपा (मशाल) रूपन्देहीका जिल्ला प्रवक्ता बाबुराम आचार्यद्वारा हस्तक्षरित विज्ञप्तीमा किसानहरूको अभिभावकको रूपमा हुनुपर्ने सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय लिनु गंभीर त्रुटी भएको भन्दै निर्णय फिर्ता लिन सरकारसँग माग गरिएको छ । बिज्ञप्तीमा सरकारले हचुवाका भरमा गरेको निर्णयले देशै भरिका सम्पूर्ण किसान र रुपन्देहीका ६ लाख ७१ हजार ३ सय भन्दा बढी किसानहरू मारमा परेको उल्लेख गरिएको छ । “अहिले अन्तर्राष्ट्रिय रुपमा रासायनिक मलको मुल्य घटेको छ । तैपनि यो सरकारले नेपाली किसानकाहितहरुका विरुद्धमा जुन निर्णय लिएको छ यो निर्णयबाट फिर्ता हुन हाम्रो पार्टीले सरकार सङ्ग जोडदार माग गर्दछ ।” विज्ञप्तीमा भनिएको छ ।
सरकारले विगतका वर्षमा मलमा दिदै आएको अनुदान ७०.८२ प्रतिशतबाट घटाएर ५९ प्रतिशतमा झार्ने निर्णय गरेको छ । किसानहरूका उत्पादनहरू विक्री हुने अवस्था समेत नभएका बेला सरकारले समेत अनुदान कटौती गर्नु गलत भएको मशालले ठहर गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ। सरकारले आफ्नो आम्दानी र खर्चको सन्तुलन मिलाउने बहानामा किसानहरूलाई मारमा पारेको भन्दै मशालले किसानलाई पेशाबाट पलायन हुने वातावरण बनाउन सरकार उद्धत देखिनु गम्भीर खतारा भएकोले विरोध गर्नुपरेको विज्ञप्तीमा भनिएको छ । किसान, मजदुर र आम जनताको पक्षमा सरकार नरहेको पुष्टी भएको उल्लेख गर्दै सरकारको कदम बिरुद्धमा आन्दोलनका लागि आम उपभोक्ता र किसानहरुसङ्ग मशालले बिज्ञप्ती मार्फत अग्रह समेत गरेको छ । विषादी परीक्षणको प्रस्ताव मन्त्रीपरिषदबाट फिर्ता गर्ने कार्यको समेत नेकपा मशाल रूपन्देहीले विरोध जनाएको छ ।