भैरहवा ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको अन्तिम खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी भएको छ । एक खेल अगावै फाइनलमा पुगेको खुकुरीले बिहीबार भएको सुपर फोरको अन्तिम खेलमा तिरुपति क्रिकेट क्लबमाथि १ सय १८ रनको फराकिलो जित निकालेको हो । सुपर फोरमा सबै जित निकाल्न सफल लुम्बिनी खुकुरीले अब शनिबार हुने फाइनलमा वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि भिड्ने छ ।
सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४९।२ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४० रनको उच्च योगफल बनायो। जवाफी ब्याटिङ गरेको तिरुपति २२।४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २२ रनमा समेटिएर हार व्यहोर्यो । खेलमा लुम्बिनी खुकुरीका प्रज्वल थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएका छन। रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन। प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।