भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १८ लाख ३६ हजार ६८० रुपैया मुल्यका अवैध कपडा बरामद गरेको छ। आज शुक्रबार बिहान साढे ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शंकास्पदको आधारमा ग १ त ४६२५ नम्वरको ट्याक्टरलाई अनुसन्धान गर्ने क्रममा जिल्ला रुपन्देही मायाँदेवी गाउँपालिका वडा नम्बर ७ वनगाईमा उक्त अवैध कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ।
प्रवक्ता अर्याललका अनुसार जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं ४ बस्ने बर्ष ३६का ओम प्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्वरको ट्याक्टरलाई शंका लागी रोकी चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लेडिज सुट ५६८ थान, ब्लाउजको अस्तर (भित्री) २ हजार थान, पहेलो धोतीको कपडा २६४० मिटर, पुजामा प्रयोग गरिने सेतो कपडा ३८० थान, जेन्स बेल्ट ४१० थान र ट्याक्टर सहित प्रहरीले बरामद गरेको हो।
ट्याक्टर चालक यादव सहित बरामद गरिएका अबैध कपडा र ट्याक्टरलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।