चितवन ।
चितवनकाे भरतपुर महानगरपालिका–१५ मा निर्माणकाे काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषदबाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागेको जनाएको छ ।
यसबारे छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले बताउनुभएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको र फाउन्डेशनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको बताएको छ ।
भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । मेयर दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो ।