एजेन्सी ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेन युद्ध अन्त्यको प्रस्ताव राख्नुभएको छ । रुस भ्रमणमा रहनुभएका सीले रुस–युक्रेन युद्धका लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव समकक्षी पुटिनसमक्ष राख्नुभएको छ । चीनको प्रस्तावमा सामान्य सिद्धान्तका कुरा भए पनि युद्ध कसरी रोक्ने भन्ने विस्तृत योजना भने नरहेको र रुसले पछिल्लो भेटबारेमा विस्तृत जनाकारी दिइनसकेको बीबीसीले जनाएको छ । पश्चिमा देशहरूले रुसलाई एक्लो बनाइरहेका बेला चिनियाँ राष्ट्रपति सी रुस पुगेर युद्ध रोक्न आग्रह गर्नुभएको हो । चीनको प्रस्तावपछि रुसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफू खुला रहेको बताउनुभएको पनि बीबीसीले जनाएको छ ।
एक वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरे पनि चीनले त्यसको विरोध गरेको छैन । युक्रेन आक्रमणपछि सी पहिलो पटक रुस पुग्नुभएको हो । सीले आफ्नो भ्रमण निकै फलदायी हुने बताउनुभएको छ । यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले भने सीको भ्रमण हतियार बेच्न गरेको चालबाजी रहेको आरोप लगाउनुभएको छ । तर सीको भ्रमणबारे युक्रेन भने आशावादी देखिएको छ । चीनले दुई हप्ताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको थियो ।