९ चैत्र, रुपन्देही ।
मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गरी मृत्यु भएको घटनाबारे चासो लिएको छ । समाजको टोली आज सालझन्डी पुगेर दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोष व्यक्तिलाई प्रहरीले दुःख दिन नहुनेमा ध्यानाकर्षण गराएको छ । फागुन २० गते राति सैनामैना–१० बस्ने २२ वर्षीय सोनिया रेग्मीले झारफुकको बहानमा कुटपिट गर्दा सोही ठाउँकी १४ वर्षीय बालिका सीता ज्ञवालीको मृत्यु भएको थियो ।
समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय सालझन्डीमा पुगेर घटनाबारे जानकारी लिएको छ । घटना रुढीवादी अन्धविश्वासको जगमा उत्पन्न भई भएको मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति खनालले बताउनुभयो। प्रहरीले कुटपिट गर्ने झाँक्री सोनियासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।