महोत्तरी ।
मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्वको विधि आजबाट सुरु भएको छ । बोलिचालीमा चैती छठ भनिने यस पर्व चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमी सम्म चारदिन विभिन्न विधिसाथ मनाइने गरिन्छ । पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्ने गर्दछन। शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिदैनन् । छठ पर्वमा ठकुवा, भुसुवा कसारसहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।