भैरहवा ।
ग्रील तथा स्टिल व्यवसायीहरुले प्रहरी प्रशासनबाट व्यवहारिक पक्षलाई हेरेर सहयोग गरिदिन प्रहरीसँग आग्रह गरेका छन । अव्यवहारिक तर्क अघि सारेर दुःख दिने र बढी जरिवाना असुल्ने काम भएको भन्दै व्यवसाीहरुले त्यसो नगर्न आग्रह गरेका हुन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुखको स्वागत तथा सम्मान कार्यक्रममा व्यवसायीहरुले कोरोना महामारीको असर र आर्थिक मन्दीका कारण व्यवसाय संकटमा परेको गुनासो गरेका छन । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले गरेको कार्यक्रममा संघका संस्थापक अध्यक्ष अशोक वर्माले विशेष गरी ग्रील व्यवसायमा तयारी सामान र कच्चा पदार्थ ढुवानीका क्रममा ट्राफिक प्रहरीबाट समस्या हुने गरेको गुनासो गर्दै यसको स्थायी समाधान चाहेको बताउनुभयो ।
ग्रीलजन्य सामानको लम्बाई धेरै हुने तर ढुवानी गर्ने साधनको बनोट सानो हुँदा ट्राफिक प्रहरीले रोकेर बढी जरिवाना असल्ने, ओभरलोड बोकेको आरोप लगाएर दुःख दिने जस्ता समस्या रहेको हुँदा ट्राफिक प्रहरीले व्यवहारिक पक्ष हेरेर सहजीकरण गरिदिनुपर्ने वर्माले अनुरोध गर्नुभयो । र सहकार्यको अपेक्षा गरे ।
सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले ओभरलोड, मापसे र तीव्र गति दुर्घटनाको मुख्य कारण भएको उल्लेख गर्दै कार्यालय समयको पिक आवरमा ढुवानी नगर्न र ढुवानीका साधन भन्दा बाहिर आउने सामानमा रातो कपडा अनिवार्य राख्न सुझाव दिनुभयो । व्यवसायीहरुका व्यवहारिक कठिनाइमा लचक हुन तयार रहेको तर ट्राफिक नियम र कानूनलाई वेवास्ता गर्न नमिल्ने प्रसाईले बताउनुभयो ।