रुपन्देही ।
लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा यही चैत १६ र १७ गते २ दिन मिडिया सम्मेलन गर्न लागेको बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानूनहरूका विषयमा बृहत् बहस र छलफल गरिने बताउनुभएको छ । सम्मेलनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुनेछन् । सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् ।महासंघका महासचिव रोशन पुरीका अनुसार १६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरि गर्ने कार्यक्रम र परासीमै महासंघको ८औं बैठकपछि साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको जानकारी दिनुभयो ।