बारा ।
बाराको एक परीक्षा केन्द्रबाट एसईईको प्रश्नपत्र बाहिरिएको छ। बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको १५ मिनेटभित्रै बाहिरिएको हो। सोही बिषयलाई छानविन गर्न प्रहरीले परीक्षा हलमा बसेर फोटो खिचेर पठाउने एक जना विद्यार्थीलाई मोबाइलसहित र बाहिरका अर्को १ जना गरी २ जनालाई नियन्त्रणमा लिएको छ ।
एसईई परीक्षा दिइरहेको विद्यार्थीले मोबाइल परीक्षा हलमा छिराएर प्रश्नपत्रको फोटो खिचेर बाहिर साथीहरूलाई सामाजिक सञ्जालमा पठाएको पाइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वको टोलीले सो विद्यालयमा पुगेर छानविन शुरु गरिसकेको जनाइएको छ । प्रजिअ सापकोटाले प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा आकस्मिक बैठक बसेर अनुसन्धान शुरु भइसकेको उल्लेख गर्नुभयो। एसईईको पहिलो दिन आज अंगेजी विषयको परीक्षा भएको थियो ।