१७ चैत, बारा ।
बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जनालाई निलम्बित गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले आदर्श कोतवाल गाउँपालिकामा रहेको महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्तालाई निलम्बन गरेको छ ।
सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थीको आजको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । हटाइएका केन्द्राध्यक्ष सहितको अन्य स्थानमा नयाँ शिक्षकलाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।