बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिडियालाई निस्पक्ष र निडर बन्नका लागि सुझाव दिनुभएको छ । प्रगतिशील पत्रकार संघ, नेपालको शुक्रबारदेखि बुटवलमा सुरु प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले गलतलाई गलत र सहीलाई सही भनेर मिडिया उभिनुपर्ने बताउनुभएको हो । साथै उहाँले मुलुक चरम आर्थिक संकटमा फसेको बताउनुभएकोे छ । केसीले गाउँ रिक्तीएर थोत्रो घर र वृद्ध–वृद्धा मात्रै मुलुकमा रहने स्थितीको सिर्जना भएको बताउदै संघीयताले देश देश ध्वस्त हुने अवस्थामा पुगेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा अहिले पनि संघीयता खारेज हुनुपर्छ भन्ने अडानमा कायम रहेको बताउँदे केसीले वर्तमान सरकारसँग ३ वटा मुख्य विषयहरु संघीयता, संक्रमणकालिन न्यायलाई टुङ्गो लगाउन सरकारले अघि बढाएको प्रक्रिया तथा अंगिकृत नागरिकका सन्तानले वंशजको नागरिकता पाउने कुरामा जनमोर्चाको असहमती रहेको उल्लेख समेत बताउनुभएको थियो । ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि जनपक्षीय पत्रकारिता’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ ।