काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको भन्दै उहाँले ती संरचना हटाउनको लागी निर्देशन दिनुभएको हो । हटाउन निर्देशन दिइएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमङ्गलम, धोबीचौर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट रहेका छन। शाहले प्रहरीले ती संरचना नहटाएमा महानगरले नै कानुन अनुसार भत्काउने चेतावनी समेत दिनुभएको छ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने स्थापित गर्न सवै तयार हुन अपिल समेत गर्नुभएको छ ।