२७ चैत्र, भैरहवा ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै पर्यटन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीलाई चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार संगठन रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । माथिल्लो निकायबाट तत्काल पहल गर्न, भारतीय दुतावासबाट लिनुपर्ने नो अब्जेक्सन सर्टिफिकेट तत्काल प्राप्त गर्न पहल गर्नुपर्ने लगायतको ७ बुँदे माग राख्दै संगठनले आइतबार राज्यमन्त्री श्रीपालीलाई भैरहवामा ज्ञापनपत्र बुझाएको हो ।
हप्तामा तीन दिन मात्र उडान भएकाले विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि दवाव दिने उद्देश्यले धर्ना तथा विरोध कार्यक्रम गरिसकिएको र मागहरु पूरा नभए तेस्रो चरणको आन्दोलन गर्न बाध्य हुने चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री श्रीपालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन हुनुपर्ने निजी क्षेत्रले चिन्ता र चासो व्यक्त गर्नु स्वभाविक भएको बताइन् । उनले यसबारे मन्त्रिपरिषद् बैठकमा कुरा राख्ने र मन्त्रालयबाट आवश्यक पहल गर्ने बताइन् ।विमानस्थल पुर्ण रुपमा सञ्चालनमा नआउदा ठूलो लगानी धरासायी हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।