बुटवल।
सिद्धबाबा सुरुङ मार्गको निर्माणका लागि ठेक्का भइसकेको र छिट्टै निर्माणको काम सुरु हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभएको छ। सोमबार सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सिद्धबाबा सुरुङ मार्ग क्षेत्रको अवलोकन गर्दै मन्त्री ज्वालाले निर्माण कम्पनी, मन्त्रालय सम्बद्ध कर्मचारीसँग छलफल गरेर योजनाको छिटोभन्दा छिटो काम अगाडि बढाउने गरी सहजीकरण गर्ने बताउनुभएको छ ।
उहाँले आफू मन्त्री भएपछि पहिलो पटक आयोजनाको जानकारी लिन निरीक्षणमा आएको भन्दै गुणस्तरीय रूपमा काम गर्न निर्देशन दिनुभयो ।
सुरुङ मार्गको काम सुरु अघि पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारले काम गरिरहेका छन् । सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि रु सात अर्ब ३४ करोड २१ लाख चार हजार चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।