कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिकामा लघुउद्यम व्यवसाय गरेका लघुउद्यमीहरुका लागि विभिन्न व्यवसायिक प्रवद्र्धन सम्बन्धी एडभान्स तालिम सञ्चालन गरिएको छ। गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न वडाहरुमा सञ्चालन गरिने स्तरोन्नती तर्फको २० दिने एडभान्स सिलाइ कटाई तालिम, बुटिक सम्बन्धी एडभान्स र ७ दिने डल कुशन तालिमको संयुक्त रुपमा कञ्चन गाँउपालिका वडा नं। ४ मा शुभारम्भ गरिएको हो। तालिमको शुभारम्भ गर्दै कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सिप सिकेर ब्यवहारमा लागु गर्नेहरु नै आत्मनिर्भर र स्वरोजगार बन्ने बताउनुभयो। हरेक तालिममा सहभागिता जनाउने तर सिकेका कुनैपनि सिपहरुको सदुपयोग नगर्ने कुनै पनि व्यक्ति सिप सिकेर केही गर्छु भन्ने सोंच भएका व्यक्तिहरुको अधिकार र मौका खोसेकै सरह हुने उपाध्यक्ष थापा मगरले बताउनुभयो।
महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा समेत सवल र आत्म निर्भर बनाउन पालिकामा छलफल भइरहेको र फरक प्रसंगमा बोल्दै उपाध्यक्ष थापा मगरले अव कञ्चनवासीले छिट्टै नै हात हातमा लालपुर्जा पाउने अवस्थामा गाउपालिकाले अन्तिम तयारीको मेहनत गरिरहेको बताउनुभयो। उपाध्यक्ष थापा मगरले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन गाउपालिकाबाट बिभिन्न ब्यबसायिक तालिमहरु सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै मकैको पोस्कर र थाकलबाट बिभिन्न घरायसी सामग्री निर्माण गर्ने तालिम समेत सञ्चालन गरिरहेको बताउनुभयो।
विशिष्ट अतिथिको रुपमा रहनु भएका कञ्चन गाउपालिका वडा नं। ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले कुनै पनि उद्यम वा ब्यवसाय सञ्चालन गर्नु भन्दा पनि त्यसको ब्यवसायिक बजार के कस्तो छ र बजारले के माग गरिरहेको छ भन्ने कुराको अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो। अब कसैको आसा र भरोसामा नभई महिलाहरुलाई अवसर दिए मौका र चुनौतीसंग प्रतिस्पर्धा गर्न सक्ने ताकत भएको वडा अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो।
कञ्चन गाँउपालिका वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षतामा शुभारम्भ गरिएको तालिमको शुभारम्भ कार्यक्रमको सञ्चालन गरिवि निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम का सहजकर्ता कल्पना कार्कीले गर्नुभएको थियो । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका यसभन्दा अघि आधारभुत ब्यवसायिक तालिम लिई घरमै उद्यम गरी ब्यवसाय सञ्चानल गर्दै आएका कञ्चन गाउपालिका वडा नं। ३, ४ र ५ का लघुउद्यमीहरुलाई उक्त तालिम सञ्चालन गरिएको हो।