रुपन्देही ।
रुपन्देहीको सैनामैनामा झारफुकबाट भएको बालिकाको मृत्यु प्रकरणमा संलग्न भएकी माता भनिने सोनिया रेश्मी मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। गत फागुन २० गते सैनामैना–१० फुलबारी टोलमा झारफुकबाट बालीकाको मृत्यु भएपछि पक्राउ परेका अन्य १७ जनालाई रिहा गर्न अदालते आदेश दिएको हो । सालझण्डी बजारदेखि २ किलोमिटर उत्तर फुलबारी टोलकी १४ वर्षिया सिता ज्ञवालीको झारफुक गर्ने नाममा दिईएको चरम यातनापछि मृत्यु भएको थियो । उक्त मुद्दामा भएको सुनुवाईपछि जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरि अरुलाई धरौटी र साधारण तारेखमा छोडिएको छ ।
प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी माता सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लिलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गरी मुद्दा चलाएको थियो । ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकहां लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् ।