७ बैशाख, बुटवल ।
बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो । बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन कार्यक्रम भएको छ । बिहीबार बिहान ११ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई स्वागत र सम्मान गर्नुभएको थियो ।