बुटवल।
रूपन्देहीमा रहेका मगर समाजसेवी, बुद्धिजीवी लगायतका बीचमा डुप्के चिन्डीके (भेटघाट) कार्यक्रम सम्पन्न भएको छ। नेपाल मगर संघ रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको कार्यक्रममा यस क्षेत्रमा रहेका मगर अगुवा तथा समाजसेवीहरुको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल होम बहादुर सोती मगर र सैनामैना नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत उपसचिव जनक थापा मगरलाई सम्मान समेत गरिएको थियो । नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दल बहादुर बिर्कटा मगरले उहाँहरुलाई प्रमाण पत्र र खादाले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगा खासुमगर, संघकै मगरात लुम्बिनी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जनक थापा मगर लगायतले बोल्नु भएको थियो। कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अध्यक्ष अन बहादुर सोतीको अध्यक्षता, उपाध्यक्ष प्रेम थापाको स्वागत तथा सचिव थर्क बहादुर बारघरेको सञ्चालनमा सम्पन्न भएको थियो।