काठमाण्डौ ।
गोरखा भूकम्पको आठौँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ। २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परेर झण्डै नौ हजार मानिसको ज्यान गएको थियो भने भूकम्पमा परी २२ हजार ३ सय ९ जना घाइते भएका थिए। यस्तै, आठ लाख भन्दा धेरै निजी आवासमा क्षति पुगेको थियो भने झण्डै एक हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो।
भूकम्पले १४ जिल्लामा सबैभन्दा बढी असर पुर्याएको थियो। काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गामा यसले बढी क्षती पुर्याएको हो। यही स्मृतीमा आज देशभर सचेतना सम्बन्धी कार्यक्रमहरुको आयोजना गरी भुकम्प दिवस मनाइएको छ।