बुटवल ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिनुहुने भएको छ । बिहीबार नियुक्त हुनुभएका मुख्यमन्त्री चौधरीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । त्यसपछि राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभएको छ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन–तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।