काठमाण्डौ ।
निरा पाण्डे आचार्यको हत्या गरेको आरोपमा प्रहरीले झापाको धुलाबारीका विनोद विकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाण्डौको कपनमा दिउँसोको समयमा भाँडा किन्ने बाहानामा पसलमा छिरेका विकले भाँडा देखाउने क्रममा निरा पाण्डेलाई पछाडिबाट छुरा प्रहार गरी हत्या गरेर उनले लगाएको सुनका गरगहना र पसलमा भएको नगद लिएर त्यहाँबाट भागेको खुल्न आएको हो। निरा पाण्डेको हत्या चोरी गर्ने उद्देश्यले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले जानकारी दिनुभएको छ।
शनिवार बेलुका झापाबाट पक्राउ परेका विकलाई निरा हत्या प्रकरणमा गठित प्रहरीको उच्चस्तरीय अनुसन्धान समितिले आज आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । विकले हत्यापछि चोरी गरेका सुनका गहना बिक्री गरेको देखिएको र हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामग्रीहरू समेत भेटिएका एसएसपी आचार्यले जानकारी दिनुभयो । सरस्वतीनगरमा भाडा पसल सञ्चालन गरिरहेकी पाण्डेको गएको वैशाख ७ गते दिउँसो हत्या भएको थियो ।