१७ बैशाख, बुटवल ।
तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन सेवा शुरु भएको छ। तिलोत्तमा– ६ मा रहेको आनन्दवन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त सेवाको शुभारम्भ गरिएको हो। सेवाको शुभारम्भ गर्दै नगरप्रमुख रामकृष्ण खाँणले स्वास्थ्यको क्षेत्रमा धेरै सचेतनाको अभावमा निकै समस्या देखिएको र अब सबै सचेत रहन आवश्यक रहेकोमा जोड दिनुभएको छ । तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धु्रबराज घिमिरेले एन्टी रेबिज भ्याक्सिन सेवा तिलोत्तमामा शुरु भएपछी अब बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
स्वास्थ्य सेवा बिभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृती पाएर प्रदेश आपूर्ति तथा ब्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध भ्याक्सिन बितरण गरिने जानकारी दिनुभएको छ। उनले यो सेवा प्रदान गर्नको लागि यहाका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको र निशुल्क सेवा प्रदान हुने बताउनुभयो । उहाँले यो भ्याक्सिन पहिलो डोज टोकेको दिन, दोस्रो डोज चौथो दिन र तेस्रो सातौ दिनमा लगाईने उहाँको भनाई छ । स्वास्थ्य चौकिमा १ जना मेडिकल अफिसर सहित १३ जना स्वास्थकर्मीहरु रहेका छन । चौकिबाट मानसिक स्वास्थ्य परामर्श सेवा, न्युनतम खर्चमा होलबोडी चेकअप लगायतका महत्वपूर्ण सेवाहरु प्रदान गर्दै आएको जनाईएको छ ।




