काठमाण्डौ ।
नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा रायमाझीको पनि सम्बन्ध देखिएकाले काठमाडौं जिल्ला प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी मागेको थियो।
पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव रायमाझीले आफू अहिले अर्घाखाँचीको कार्यक्रममा भएको र अहिलेसम्म कसैले आफूलाई यो विषयमा सोधपुछ पनि नगरेको बताउनुभएको छ । रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए।