काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोपमा थप दुई जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले काठमाण्डौको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज मङ्गलवार पक्राउ गरिएको जानकारी दिनुभएको छ । उनीहरू यस घटनामा बिचौलिएका रूपमा काम गरेको पाइएकोले बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।
यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव ९तत्कालीन गृह सचिव० टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् । पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा अहिलेसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।