रुपन्देही ।
दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ । सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित उक्त मार्टसन २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो । सात बुँदे घोषणापत्रमा लुम्बिनी, भगवान् बुद्ध (शाक्यमुनि)को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइ विस्तार गर्न विभिन्न गतिविधिहरू सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
यस्तै बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरू लुम्बिनी, बोध गया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवद्र्धनकोलागि साझा कथाहरू(कथाहरू विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवर्द्धन र विस्तार गर्ने लगायतका विषयहरू समेटिएका छन् ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न कार्यक्रमको संयोजनको भूमिका नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)ले गरेको थियो भने लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य सङ्घ संस्थाहरूको सहयोग रहेको थियो । मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रग्मीले बताउनुभयो।