काठमाण्डौ ।
दुवै खुट्टा गुमाएका रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथाको सफल आरोहण गर्नुभएको छ। घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका मगरले कृत्रिम खुट्टाको सहयोगमा शुक्रबार सगरमाथा आरोहण गर्नुभएको पर्यटन विभागले जानकारी गराएको छ । सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो। यस वर्षको वसन्त ऋतुमा साढे चार सय जनाभन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो शनिवारदेखि सगरमाथाको आरोहण सुरु भएको हो। सामान्यतया सगरमाथा आरोहणका लागि मे २९ सम्मको समय अनुकूल हुन्छ।