एजेन्सी।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच दोस्रो क्वालिफायर खेल हुँदैछ। खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ। विजेता टोलीले मे २८ मा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग फाइनल खेल्नेछ भने हार्ने टोलीको यात्रा यहीँ समाप्त हुनेछ । मुम्बई इन्डियन्स लिग चरणपछि अंक तालिकामा चौथो स्थानमा रहेको छ। टोलीले १४ खेलबाट ८ जित र ६ हारसहित १६ अंक जोडेको छ। रोहित शर्माको नेतृत्वमा रहेको टोलीले एलिमिनेटरमा लखनउ सुपरजाइन्ट्सलाई ८१ रनले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको हो । टोली १०औं पटक प्लेअफमा पुगेको छ, टोलीले प्रतियोगिताको शीर्ष ४ चरणमा अहिलेसम्म १९ खेल खेलेको छ । उसले १३ मा जित र ६ मा मात्र हार बेहोरेको थियो। गुजरातविरुद्धको टोलीमा ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, जेसन बेहरेनडर्फ, टिम डेभिड र क्रिस जोर्डन हुन सक्छन। यसबाहेक ब्याटिङ पिच हेर्दा अलराउन्डर ऋतिक शोकिनको स्थानमा विशेषज्ञ स्पिनर कुमार कार्तिकेयलाई मौका मिल्न सक्छ।
साविक विजेता गुजरात टाइटन्स लिग चरणको शीर्ष स्थानमा रहेको थियो। टोलीले १४ खेलमा १० जित र ४ हारबाट २० अंक बनाएको थियो, तर क्वालिफायर-१ मा टोलीले चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो । टोलीले फाइनलमा पुग्ने दोस्रो मौका पाएको हो। गुजरातले आजको खेलमा घरेलु मैदानको फाइदा उठाउन सक्छ। यहाँ टोलीले अहिलेसम्म ८ खेल खेलेको छ जसमध्ये ५ खेलमा जित निकालेको छ। मुम्बई विरुद्ध गुजरातका ४ विदेशी खेलाडी राशिद खान, नूर अहमद, डेभिड मिलर, दासुन शानाका र अल्जारी जोसेफ हुन सक्छन्। टोलीले दर्शन नल्कांडेको स्थानमा शिवम मावी वा अभिनव मनोहरलाई मौका दिन सक्छ भने शनाकाको स्थानमा जोसेफलाई मौका दिन सक्छ।
मुम्बई इन्डियन्सले आफ्नो १०औं प्लेअफमा चौथो क्वालिफायर-२ खेल्नेछ। पहिले टोली तीन पटक क्वालिफायर–२ मा प्रवेश गरेको थियो। त्यसमध्ये टोलीले २ जित र १ हार बेहोरेको थियो। टोली सन् २०११ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो। २०१२ देखि टोलीले २ वटा क्वालिफायर २ खेलेको थियो। जसमा दुबै खेल जित्न सफल भएको थियो । २०१३ मा टोलीले राजस्थान रोयल्स र २०१७ मा कोलकाता नाइट राइडर्सलाई हराएको थियो। अर्कोतर्फ, गत वर्ष आईपीएलमा सामेल भएपछि गुजरातले पहिलो पटक क्वालिफायर-२ खेल्नेछ। गत सिजन टोलीले पहिलो क्वालिफायर र फाइनल जितेर ट्रफी उचालेको थियो। प्रतियोगिताको लिग चरणमा यी दुई टोली अहिलेसम्म तीन पटक भिडेका छन्, जसमा मुम्बईले दुई पटक जितेको छ भने गुजरातले एक पटक जितेको छ। यस सिजनमा दुवै टोलीले एक–एक खेल जितेका थिए। तर अहमदाबादमा भएको खेल गुजरातले जितेको थियो ।