काठमाण्डौ ।
गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गीको सङ्क्रमणबाट जोगिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गीको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेकोे हो । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ ।रोग नियन्त्रण शाखाका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेङ्गी देखिएकामा ८८ जनाको ज्यान गएको थियो । गएको पुस १५ देखि अहिलेसम्म सात सय एक जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । मन्त्रालयले हरेक शुक्रवार डेङ्गी विरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ ।




