भैरहवा ।
नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणिकरण गर्नु विधि र विषयवस्तु दुवै असंवैधिनिक र राष्ट्रघाती भएको बताउनु भएको छ। शनिबार नेपाल क्रान्तिकारी महिला संघ रूपन्देहीद्वारा आयोजित ‘केटीहरू’ बुलेटिनको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बासीले देश र जनताको हितमा अघिल्लो राष्ट्रपतिले रोकेको राष्ट्रघाती नागरिकता विधेयक पुनःराष्ट्रपति समक्ष पठाउन कुनै संवैधानिक बाटो नरहेको स्पष्ट पार्नुभयो। सरकारले अध्यादेश मात्र सिफारिस गर्न सक्ने तर विधेयक प्रमाणिकरण गर्न संविधानको धारा १११ बाटै जानु पर्ने अध्यक्ष बासी जिकिर गर्नुभयो।
विधेयकले बिना बुबाका सन्तान बढाएर सामाजिक विकृति ल्याउने र बुहारीलाई वैवाहिक अंगिकृत नागरिकता दिएजस्तै ज्वाईलाई पनि सहजै अंगिकृत नागरिकता दिने खतरा बढेको बताउॅदै अध्यक्ष बासीले खुल्ला सीमाको कारण नागरिकतामा गम्भीर बन्नैपर्छ भन्नुभयो । ‘केटीहरू’ बुलेटिनमा समेटिएका रचनाहरूले पार्टी संगठनको गतिविधि बढाउन र सैद्धान्तिक रूपमा सुशिक्षित पार्न कार्यकर्ता स्वयम् जागरूक र सक्रिय हुन निर्देशन दिएको उल्लेख गर्दै अध्यक्ष बासीले स्वदेशी तथा विदेशी क्रान्तिकारी महिलाहरूको जीवनी अध्ययनबाट नयॉ पुस्तालाई थप उर्जा प्राप्त भएको बताउनुभयो।
नेपाल क्रान्तिकारी युवा संघ रूपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले सन् १९५० को असमान सन्धिबाट नेपाललाई भारतीय एकाधिकार पुॅजीले आफ्नो मुठ्ठीमा कैद बनाएको चर्चा गर्दै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाली गर्ने शासक दलहरूकै कारण नेपाली जनताले दुख पाएको बताउनुभयो। नेपाल क्रान्तिकारी विद्यार्थी संघ रूपन्देहीका सुग्रिम साहनीले तीन जनाको सिफारिसमा बाटोमा आएको विदेशीले पनि जन्मको आधारमा नागरिकता पाउने कानुनको विरोधमा नेमकिपाले लिएको अडान र संघर्ष जायज रहेको उल्लेख गर्दै मधेशीलाई नागरिकता दिने नाममा ल्याएको विधेयकको कारण नवआगन्तुक मधेशीबाट धर्तीपुत्र मधेशी आक्रान्त हुने अवस्था आएको उल्लेख गर्नु भयो। अन्तरक्रिया कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल क्रान्तिकारी महिला संघ रूपन्देहीका अध्यक्ष सुशीला पौडेलले संघका पूर्व कोषाध्यक्ष का. शोभा प्रधानको प्रेरणादायी जीवनीमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा मनोज यादव, गणेश परियार र समीर पोख्रेललगायतले ‘केटीहरू’ बुलेटिनको विभिन्न रचनाबारे टिप्पणी गर्नुभयो ।