काठमाडौं ।
मुगुमा हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलकको शव ३२ दिनपछि भेटिएको छ । प्रहरीका अनुसार मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेखमा गत वैशाख २२ गते यार्सा संकलन गर्न गएका उनीहरु हिउँपहिरोमा परी बेपत्ता भएका थिए । मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की,३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी गराएको छ । बेपत्ता भएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको हो । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाएर दाहसंस्कार गरिएको छ ।